स्वास्थ्य मन्त्रालयको लापरवाही : गोदाम धरमै सकियो डेढ लाख कोरोना खोपको म्याद

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले कोरोना खोप लगाउने काममा ध्यान नदिँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । सरकारले खोप अभियानमा चासो नदिँदा सो परिमाणमा खोप खेर गएको हो ।

स्वस्थ्य मन्त्रालयका अनुसार शनिवार डेढ लाख कोभिसिल्ड खोपको म्याद सकिएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वाग्मती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो, बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।

बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको छ । बुधबारदेखि शुक्रबारसम्म तीमध्ये कति खोप लगाइयो भन्ने तथ्यांक विभागसँग छैन ।

नेपालले हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ । यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ । कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ ।

  • ८ श्रावण २०७९, आईतवार ११:४३ प्रकाशित