पोखरा ।
पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।
युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट पाँच/पाँच करोड रुपैयाँसहितको सहकार्यमा १५ करोडको कोष मार्फत कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि शैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका मेयर आचार्य बीच कोष मार्फत कार्यक्रम छिट्टै आगडि बढाउने शैद्धान्तिक सहमति भएको मेयर आचार्यले बताए । उनले यसका लागि छिट्टै बसेर औपचारिकता दिइने उनले जानकारी दिए । उक्त कोष मार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताएका छन् ।
साथसाथै कृषि उद्यमको माध्यमबाट रोजगारी समेत अभिबृद्धि हुने उनले बताए । ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ज्युसंग बसेर कृषि उद्यम लक्षित गर्दै स्वरोजगार कोष मार्फत युवाहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो शैद्धान्तिक सहमति भएको छ । यसमा हामी तीन वटै पक्षले बराबर रकम जग्मा गर्ने छौं र बैंक मार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौं ।
खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवा लक्षित गरेर महानगरमा रोजगार अभिबृद्धि गर्ने पनि हाम्रो चाहना हो’ मेयर आचार्यले भने ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताए । ‘यो कार्यक्रम मार्फत न्युन वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना हो’ उनले भने ।
कार्यकारी निर्देशक अधिकारीले उक्त कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा आफूहरु रहेको उनले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तिमा एक महिना लाग्ने छ ।