पोखरामा सुरु भयो रोजगार मेला (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।
एक हजार जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षासहित पोखरामा शुक्रबारदेखि वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा पोखरामाको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला सुरु भएको हो ।

‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ ३ दिनसम्म चल्ने मेलाको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । उद्याटन मन्तब्य राख्दै गुरुङले श्रम शक्ती विदेश जाने क्रम बढेको भन्दै स्वदेशमा रोजगार सृजना गर्नुपर्नेमा जोड दिए । रोजगार दाता र रोजगारको खोजिमा रहेकाहरुको मिलन गराउन मेला सफल हुने गुरुङले विश्वास व्यक्त गरे ।

नेपाल सरकार र स्वीस सरकारको सहयोग एवं नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोगमा आयोजित मेलामा गण्डकी विश्वविद्यालय, उद्योगवाणिज्य संघसहित प्राविधिक सिप सिकाउने संस्थाका स्टल रहेका छन् । मेलाले जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघ गराउने शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताए ।

मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी र सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोगबारेमा जानकारी दिइने छ ।

व्यावसायिक तालिम लिन चाहने विद्यार्थीका लागि पर्याप्त जानकारी समेत मेलामा दिइने छ । मन्त्रालयले तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली मोबाइल एप निर्माण गरेको छ । सो एपमा सीपमूलक तालिम लिन चाहने, रोजगारको खोजीमा रहेका व्यक्तिहरू, रोजगारदाता र सीप परीक्षण गर्न चाहनेहरुबारे जानकारी राखिनेछ ।

  • ६ श्रावण २०७९, शुक्रबार १६:२६ प्रकाशित