युरेनियमको कारोबार गरेको आरोपमा १५ जना पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।
युरेनियम जस्तो देखिने पदार्थ सहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । गत साउन १ गते विराटनगर महानगरपालिका वडा नं ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटेलमा कोठा लिएर बसेका ८ जनालाई पक्राउ गरेकोमा थप ७ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।

साउन १ गते विशेष सूचनाको आधारमा १ किलो ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीको दाबी छ । त्यस्तै मंगलवार विराटनगर महानगरपालिका वडा नं ३ स्थित दूधफारमबाट ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए ।

प्रहरीले धनपालथान गाउँपालिका ७ का शिव शंकर पासवान, लक्ष्मण शर्मा र प्रदीप पुरी, वडा नम्बर ४ का मुकेश कुमार साह, कटहरीगाउँपालिका २ का दिलीप कुमार शर्मा, विराटनगर १२ का फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ का गोपाल मगर र खोटाङको हलेसी नगरपालिका ९ बस्ने किरन राईलाई आइतबार पक्राउ गरेको हो ।

दूधफारमबाट पक्राउ परेकाहरूमा गोरखाको गण्डकी गाउँपालिका ८ का जीवन गुरुङ, महोत्तरीको मङ्हा नगरपालिका ६ का अब्दुल गनी खान, बर्दिबास नगरपालिका १२ का चन्दन कुमार महतो, मनरा शिसवा नगरपालिका ३ का उपेश यादव रहेका छन् ।

त्यस्तै मोरङ ग्रामथान गाउँपालिका ३ का रवीन्द्र गच्छेदार, मकवानपुरको बागमती गाउँपालिका ५ का दीपक बहादुर भ्लोन र सिन्धुलीको कमलामाई नगरपालिका ५ का श्याम घिमिरेलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका व्यक्तिको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

  • ४ श्रावण २०७९, बुधबार १७:४८ प्रकाशित