काठमाडौं ।
न्यायाधीशसँग घुस डिल गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेल फरार भएको सूचना प्रकाशन भएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्ले पाखरेल फरार भएको भन्दै सार्वजनिक सूचना प्रकाशन गरेर ७ दिने सूचना जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस डिल प्रकरणमा जोडिएका पोखरेललाई स्पष्टीकरणका लागि पत्र पठाए पनि उनी फरार छन् ।
नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टीकरणका लागि यसअघि दुई पटक पोखरेलको ल फर्म, घर रहेको ठेगाना र झापास्थित पुरानो ठेगानामा पनि पत्राचार गरी स्पष्टीकरण पेश गर्न भनिएको थियो ।
यद्यपि ती सबै स्थानमा पोखरेलको म्याद तामेल हुन सकेको थिएन । कुनै पनि ठेगानामा म्याद तामेल नभएपछि पोखरेललाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न मंगलबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।















