एमालेको चुनाव लक्षित प्रदेशस्तरीय प्रशिक्षण सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले चुनावलक्षित प्रदेशस्तरीय प्रशिक्षण सुरु गरेको छ ।

एमालेले आमनिर्वाचनको तयारीका लागि प्रदेश हुदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सुरु गरेको हो। सोमबार मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेका छन् ।

मंगलबार प्रदेश १ को विराटनगर, बुधबार वाग्मतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण हुनेछ । अन्य प्रदेशको मिति भने तोक्न बाँकी छ र चाँडै तोकिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।

आगामी चुनावसम्म सबै कार्यकर्ताहरूमा कम्तीमा एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनसक्ने गरी कार्यक्रम तय गरिएको रिजालले जनाएका छन् ।

एमालेले भौतिक उपस्थिति र भर्चुअल दुवै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिएको छ ।

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजक तोकिएको छ ।

  • २ श्रावण २०७९, सोमबार १४:४९ प्रकाशित