काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसले धेरैमा जित निकाल्न नसके पनि नेकपा एमालेलाई हराउन काफी भएको दाबी गरेका छन् ।
नेपालले निकै ठूलो सम्भावना भनिएको पार्टीले पनि ठूलो धक्का खाएको बताउँदै आफ्नो पार्टीले एमालेलाई हराउन सक्ने तागत राख्ने दाबी गरेका हुुन् ।
नेकपा एसको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताए ।उनले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन र अपमान गरे गठबन्धनले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।
नेपालले भने, ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न । अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’
अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताए । उनले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गरे ।














