काठमाडौं ।
नेपाली कांग्रेसले नयाँ मर्यादाक्रम तोक्ने भएको छ ।
पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नेपाली कांग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको हो । केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको छ ।
यसअघि मर्यादाक्रममा को माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।
सहमहामन्त्रीत्रय परियार, उपाध्याय र पाण्डेले मर्यादाक्रमको मस्यौदा तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेका हुन् । मंगलबारको बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।
मस्यौदाअनुसार कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । हाल सभापति देउवाले महाधिवेशनमा सहयोगी बनेका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखेका छन् ।
प्रस्तावित मस्यौदाअनुसार मर्यादाक्रमको सबैभन्दा माथि केन्द्रीय सभापति हुने, र त्यसपछि क्रमशः पुर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ । मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुन्छन् । यसआधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उपसभापतिहरू हुनेछन् ।















