काठमाडौं ।
नेपाली कांग्रेसले एक वर्षको अवधिमा भ्रष्टाचार घटेको दाबी गरेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन्।
मंगलबार कांग्रेस मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता महतले केपी ओलीको पालामा काण्ड भएकोमा कांग्रेस नेतृत्वको सरकारले त्यसलाई नियन्त्रण गरेको बताए।
‘एक वर्षको अनुभव छ, सरकार सन्तोषजनक ढंगले चलेको छ। कतिपय उपलब्धीहरु पनि यो सरकारले हासिल गरेको छ। कोभिडको कत्रो चाहिँ ब्यापक प्रकोप थियो। ओलीजीको सरकारको पालमा। पछि चाहिँ भ्याक्सिनेसन ल्याएर सहज जीवन भएको छ। हामी चाँडै बिर्सिन्छौं’ उनले भने, ‘त्यस्तै गरेर ठूलो भ्रष्टाचार, एक पछि अर्को काण्डै काण्ड भएको अवस्था थियो। त्यो रोकिएको छ।’














