पोखरा ।
नागरिकको चर्को आलोचना पछि गण्डकी प्रदेश सरकारले नेताका आमा बुबा तथा आफन्तका नाममा स्थापित ट्रष्टलाई छुट्याएइको बजेट फिर्ता गर्न निर्देशन दिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आम नागरिकको असन्तुष्टि तथा आलोचना तर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै जनताको भावनालाई कदर गर्दै त्यस्ता सो बजेट फिर्ता गर्न आदेश दिएका हुन् ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रमका लागि बजेट छुट्याएको थियो । सोही कार्यक्रम र बजेटको नागरिकले विरोध गरेका ह्न् ।
पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।
शिक्षामन्त्री श्रेष्ठले आइतबार नै आफ्ना बुवा(आमाको नाममा छुट्याइएको बजेट फिर्ता लिइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका थिए । त्यसपछि मुख्यमन्त्री पोखरेलले पनि विभिन्न व्यक्तिका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा छुट्याइएको बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।














