बलात्कार तथा यौन हिंसाका घटनामा अबदेखि नाबालिगले ३ वर्षसम्म उजुरी गर्न पाउने कानुनी व्यवस्था हुने भएको छ ।
प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरूमध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेसँगै यस्तो कानुनी व्यवस्था हुने भएको हो ।
यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् ।
सहमतिअनुसार अव कुनैपनि बलात्कारमा परेका नाबालिगले बालिग ९१८ वर्ष पूरा भएको० ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न पाउने भएका छन् भने बालिगको हकमा घटना भएको २ वर्षभित्र उजुरी गर्न पाउने छन् ।
साथै अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि १ बर्ष हदम्यादको व्यवस्था रहेको थियो ।














