गण्डकी प्रदेश सभामा एमालेको अवरोध, बजेट छलफल रोकियो

केन्द्रभाग मिडिया

पोखरा ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ । बजेटको विषयलाई लिएर बिहिबारकाे  बैठक एमालेले अवरोध गरेको हो ।

बजेटमाथिको छलफल जारी रहेको अवस्थामा बजेट निर्माणमा सरकारले संविधान, कानून विपरीत काम गरेको एमालेको आरोप लगाउदै बैठकमा अवरोध गरेको हो । सरकारले मनमौजी तरिकाले काम गदै गएको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

मध्यमकालीन खर्च संरचना नल्याएको र मध्यमकालीन खर्च कार्यक्रम नलाई बजेट छलफल हुन नसक्ने एमालेको भनाई छ । सरकारले आम्दानी भन्दा बढिको बजेट ल्याएको भन्दै अधिकारीले २८ करोड ४ लाख रकमको स्रोत नखुलाएको भन्दै अर्थमन्त्रीको जवाफ माग गरे ।

असार १ गते अर्थमन्त्री रामजी बरालले सार्वजनिक गरेको बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम थिएन । तर सरकारले २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको छ ।

नीति कार्यक्रम र बजेटमा नभएको कुरा २० दिनपछि कसरी ल्याइयो भन्दै एमालेले सरकारको जावाफ माग गरेको छ । सत्ता पक्षबीच निर्वाचन पूर्वाधार कार्यक्रम राख्न सहमती भएको भन्ने बजार हल्ला सुनेको भन्दै प्रमुख सचेतक अधिकारीले बजेटमा नआएको कुरा कसरी सहमती हुन सक्छ, कुन शिर्षकबाट खर्च हुने हो, यस वारे अर्थमन्त्रीले जानकारी दिनुपर्ने बताए ।

अर्थमन्त्री रामजीप्रसाद बरालले निर्वाचन पूर्वाधार कार्यक्रम नराखेपछि गठबन्धन सत्तासीन दल र प्रमुख प्रतिपक्षी एमालेले पनि विरोध जनाएपछि उक्त कार्यक्रम समेट्ने सहमतिपछि असार २० बाट बजेटमाथी छलफल सुरु भएको थियो ।

  • २४ असार २०७९, शुक्रबार १३:४९ प्रकाशित