सवारीमा लेखिएको अश्लिल र अपाच्य सायरी गजल हटाउँदै प्रहरी

केन्द्रभाग मिडिया

काठमाडौं।

ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ ।

सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको भन्‍दै काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको छ ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।

  • २३ असार २०७९, बिहीबार १४:४६ प्रकाशित