छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको शर्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।सत्तारुढ दलहरु संसदीय समिति गठनका लागि तयार भएसँगै एमालेले त्यसअघि शर्माले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएका थिएनन् ।

अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । यसपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबारे छलफल भएको थियो । बुधबार माओवादी संसदीय छानबिन समिति बनाउन तयार भयो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेका थिए ।

तर एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान मात्र लिएन, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । छ

  • २२ असार २०७९, बुधबार १४:२३ प्रकाशित