जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका पर्यटन व्यवसायी सोमबार दिउँसो पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न भन्दै हतार हतार महानगर छिरे । अभिवादनका केही प्रक्रियाका साथ उनीहरुले पर्यटन बसपार्क ठेक्कामा लगाएको साँचो हो भन्दै मेयर आचार्यसंग जिज्ञाँसा राखे । मेयर आचार्यले जवाफ दिए ‘महानगरले प्राप्ति नै नगरेको पर्यटन बसपार्क कसरी ठेक्कामा लगाउन सक्छ ? पहिला प्राप्त गर्न दिनुहोस् त्यसपछि कसरी अगाडि बढ्ने भन्ने बल्ल सोच्ने कुरा हुन्छ ।’ लगत्तै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई र उपाध्यक्ष पोमनाराण श्रेष्ठले जिज्ञासा राखे ‘दुई लाख भन्दा बढी ठ्याक्कै रकम चाहिँ याद भएन त्यतिमा ठेक्कामा लगाइसकेको कुरा आएपछि हजुरलाई हामी सोध्न आएका हौं ।’

पर्यटन व्यवसायीले यति भनेपछि पुन मेयर आचार्यले अनविज्ञता प्रकट गर्दै संघीय पर्यटन मन्त्रालयका अधिकारीलाई फोन गरेरे ‘पर्यटन बसपार्क कहिले हस्तान्तरण गर्नुहुन्छ ?’ भनेर सोधे । मेयर आचार्यले सोधपछि २२ असारमा मन्त्रालयमै सानो कार्यक्रम गरेर पर्यटन बसपार्क पोखरा महानगरलाई हस्तान्तरण हुने टुंगो लाग्यो ।

मेयर आचार्यले ‘अनि कुरा गर्नुहुन्छ’ भन्दै पर्यटन व्यवसायीसंग कुरा अगाडि बढाए । कुराकानीकै क्रममा पर्यटन बसपार्क असारको दुई या तीन गते ठेक्का लगाइएको पर्यटन व्यवसायीले सुनाएपछि मेयर आचार्यले महानगरका प्रशासकीय अधिकृत बलराम रिज्यालसंग चासो राखे । बसपार्क लगायत अन्य जग्गा पनि भाडामा लगाएको कुरा आएपछि आफूले सबै फाइल महानगर झिकाउँदै गरेको जवाफ प्रशासकीय अधिकृत रिज्यालले दिएपछि मेयर आचार्यले ‘चुनावको बेला कसरी यस्तो भयो ?’ भन्दै थप चासो बढाए । त्यसलगत्तै पोखरा १७ मा रहेको गल्फ कोर्स र यातायात कार्यालय पछाडिको जग्गा समेत चोरबाटो बाट भाडामा लगाइएको रहस्य खुल्यो ।

१० देखि २५ वर्षसम्म तीन ठाउँको ६२ रोपनी जग्गा चोरबाटो बाट ठेक्कामा

राष्ट्रबैंक चोकस्थित पोखरा पर्यटन बसपार्कको १८ रोपनी, गल्फ कोर्सको ४० रोपनी र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय नजिकै रहेको ५ रोपनी उपत्यका नगरविकास समितिको स्वामित्वको जग्गा मेयर जिसी आफैंले सम्झौता गरेर ३ जेठमा ठेक्का लगाएका हुन् । उक्त मितिमा उपत्यका नगरविकास समितिकै कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय थियो । जहाँ मतगणना चलिरहेको थियो ।
पोखराको मेयरमा धनराज आचार्य ११ गते मात्र निर्वाचित भएका हुन् । निवर्तमान मेयर मानबहादुर जिसीको कार्याकाल ५ जेठसम्म थियो । अस्वस्थ रहेका तत्कालिन मेयर जिसीले कार्यकाल सकिन दुई दिन अगाडि कहाँ बसेर सम्झौतामा हस्ताक्षर गरे होलान भन्ने जिज्ञासाको जवाफ विस्तारै आउला । तर मतगणना चलिरहेको बेला जीसी आफैंले हस्ताक्षर गरेर तीन ठाउँको महत्वपूर्ण जग्गा भाडामा लगाएको पुष्टि भएको छ । त्यो पनि १० देखि २५ वर्षसम्म । पर्यटन बसपार्क र यातायात कार्यालय पछाडिको जग्गा १०/१० वर्ष र गल्फ कोर्सको जग्गा २५ वर्षका लागि भाडामा लगाएको पाइएको हो ।

पोखराका मेयर जिसीले समितिको बैठक नै नगरी गुपचुपमा ठेक्का लगाएको खुलेको छ । प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र वन कार्यालयका प्रमुखलाई जानकारी नै नदिई समितिका कर्मचारी र निजी कम्पनीको मिलेमतोमा ठेक्का लगाइएको हो ।
पोखरा पर्यटन बसपार्क शिला शालिग्राम निर्माण सेवालाई भाडामा दिइएको छ ।

शिला शालिग्राम निर्माण सेवा प्रालिका तर्फबाट छबिलाल कुँवर र समितिका तर्फबाट अध्यक्षसमेत रहेका पूर्व मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् । १८ रोपनी जग्गा भाडामा लिएबापत शिला शालिग्रामले महानगरलाई २ लाख ७५ हजार रुपैयाँ मासिक बुझाउने सम्झौता छ । यतिसम्मकी कम्पनीले बसपार्कमा कति शुल्क उठाउने र ठेक्कामा लिएपछि उसले केके काम गर्छ भन्नेसमेत सम्झौतामा उल्लेख छैन ।

राष्ट्र बैंक चोकस्थित ४० रोपनी क्षेत्रफलमा रहेको गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई ठेक्का दिइएको छ । २ लाख ७२ हजार रुपैयाँ मासिक भाडा बुझाउने गरी दिइएको ठेक्का सम्झौतामा विल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले हस्ताक्षर गरेका छन् । यस्तै पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले यसअघि सवारी ट्रायल सेन्टरको रुपमा प्रयोग गरेको करिब ५ रोपनी जग्गा राइजिङ प्रालिले १० वर्षका लागि ठेक्का पाएको छ ।

सवारी पार्किङ गर्ने, सटर बनाएर भाडामा लगाउने गरी दिइएको ठेक्कामा राइजिङका तर्फबाट गीरबहादुर पुन र समितिका तर्फबाट जिसीले नै हस्ताक्षर गरेका छन् । यो जग्गा प्रतिमहिना १ लाख ३५ हजार रुपैयाँ भाडा बुझाउने गरी ठेक्का लगाइएको हो ।
मेयर जिसीले नै हस्ताक्षर गरेर जाँदाजाँदै समितिको जग्गा ठेक्का लगाएपछि नागरिकस्तरबाट विरोध हुन थालेको छ भने मेयर आचार्य चकित परेका छन् ।

 

  • २० असार २०७९, सोमबार २२:१५ प्रकाशित