चुनावमा भएका अन्तरघातको छानबिनका लागि एमालेले बनायो तीन सदस्यीय समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए। ‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा नआएको बताउदै उनले अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भएको बताए।

त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने – असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन भनिएको छ ।

निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

  • १९ असार २०७९, आईतवार १८:२७ प्रकाशित