एक महिनामा नेपालले भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको बिजुली बेचेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा नेपालले बिजुली बेचेको हो ।

प्रााधिकरणले देशभित्र खपत गरी बचेको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिश्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताएका छन् ।

  • १७ असार २०७९, शुक्रबार १३:४४ प्रकाशित