राष्ट्रिय सभामा आश्रित विधेयकमाथिको छलफल एमालेद्धारा बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ ले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ ।

 

आफूहरूको मागको सुनुवाई नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो । शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधि सभाबाट पारित भएर आएको संदेशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनेबित्तिक्कै एमालेले उठेर विरोध जनायो ।

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न सयम दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराए । त्यसपछि एमाले सांसदहरु हलबाट बाहिर निस्किए । एमाले सांसदहरूले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

एमाले बाहेका सांसदहरूको अनुपस्थितिकाबीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी छ ।

  • १७ असार २०७९, शुक्रबार ११:४९ प्रकाशित