वीरगञ्ज ।
पर्सा प्रहरीले घाटमा जलाउँदै गरेको शव नियन्त्रणमा लिएको छ।
पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । आधा जलिरहेको अवस्थामा छपकैयाको एक आर्यघाटबाट प्रहरीले शव नियन्त्रणमा लिएको हो ।
शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव परिवारले प्रहरी र गाउँलेलाई खबरै नगरि अन्त्येष्टिको लागि लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको परिवारले बताएका छन् । तर प्रहरीले भने मृत्यु शंकास्पद भएको बताएको छ ।प्रहरीले हत्या हो कि आत्महत्या भनेर पुष्टि गर्नका लागि शव नियन्त्रणमा लिएको बताएको छ।घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेको बताइएको छ। घरका लोग्ने मानिस पनि सबै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।