विपद् व्यवस्थापनको लागि सशस्त्रको यस्तो तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

वर्खा सुरु भएसँगै निम्तिने विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले सातै वटा प्रदेशमा उद्दार टोली खटाएको छ ।विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २ हजार ३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा राखिएको छ । त्यसबाहेक ७ वटै प्रदेशमा प्रदेश स्तरीय विपद् उद्दार टिम खटाइएको छ ।

यसरी खटाइएकामध्ये ५६ जना गोताखोरको तालिम प्राप्त जनशक्ति छन् ।‘विभिन्न क्षेत्रमा उत्पन्न हुनसक्ने प्रकोपको समयमा उद्दार गर्नका लागि उनीहरुलाई प्रदेश १ को सुनसरी, बागमतीको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको शमशेरगञ्ज र सुदूपश्चिमको कैलालीमा गरी ६ स्थानमा तयारी अवस्थामा राखिएको छ

यसबाहेक सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घन्टा उद्दार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ ।

पानीजन्य विपद्बाट उद्दारका लागि २४ वटा युनिटबाट २६ जिल्लामा रेस्क्यू बोट र १० वटा जिल्लामा १० वटा मोटरबोट राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

विपद् जोखिम व्यवस्थापन प्राधिकरणले यसवर्षको मनसुनमा २० लाख जनसंख्या प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ ।

  • १५ असार २०७९, बुधबार १५:१५ प्रकाशित