यी जिल्लामा भारी वर्षा : नदीमा आकस्मिक बहावको उच्च सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज(बुधबार) देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

पछिल्लो समय कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।

यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ ।

कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विषेश सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।

  • १५ असार २०७९, बुधबार ०९:३५ प्रकाशित