पोखरा ।
निरन्तर परेको वर्षाले पोखरा – सिक्लेस सडकको ठाउँठाउँमा पहिरो जाँदा ३ दिनदेखि बाटो बन्द भएको छ । सो सडक खण्डमा आधा दर्जन बढी पहिरो जाँदा सवारी आवातजावत बन्द भएको छ ।
गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएको छ । पहिरो हटाउन समय लाग्ने भएकाले तत्काल सडक सञ्चालनमा आउने सम्भावना कम छ ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटोमा पूर्ण रुपले क्षति पुगेको छ ।
वडाध्यक्ष गुरुङको अनुसार अहिले सिक्लेस जाने बाटो पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा स्थानीयले ताङतिङको बाटो प्रयोग गरिरहेका छन् । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर जानुपर्ने उनले बताएका छन् । गाउँ जाने अरु सबै बाटो बन्द भएका छन् ।
बाटो बन्द हुदाँ स्थानीयलाई आवातजावतमा कठिनाई भएको छ।