नेकपा एस : जंगिएका आले सेलाए , ६ सांसद हस्ताक्षरबाट ‘व्याक’

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रीमण्डल हेरफेर गर्ने निर्णयबाट असन्तुष्ट रहेका एकीकृत समाजवादीका ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

शुक्रबार विभिन्न ८ बुँदे मागसहित असन्तुष्टि जनाउँदै हस्ताक्षर बुझाएका १० नेतामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

शनिबार (आज) अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

जसमा आलेसहित गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ र कृष्णलाल महर्जन रहेका छन् ।

‘उपरोक्त विषयमा ०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनि पेस गरेको पत्रमा हामी तपशिलका सांसदको समेत हस्ताक्षर रहेको उक्त हस्ताक्षर फिर्ता लिएका छाँ।’ पत्रमा भनिएको छ ।

मन्त्री हेरफेरको निर्णयबाट ब्याक हटाउन भन्दै १० सांसदहरुले अध्यक्ष नेपालसँग असन्तुष्ट रहेको भन्दै ८ बुँदे मागसहित पत्र पेस गरेका थिए । जसमा दलको बैठक बोलाउनुपर्ने मागसमेत राखिएकोमा आफ्ना मागहरु पूरा हुने देखिएपछि हस्ताक्षर फिर्ता लिएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्नो पार्टीबाट सरकारमा सामेल भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । त्यससँगै पार्टीभित्र ठूलो किचलो देखिएको छ ।

पार्टीले सिफारिस गरे पनि प्रधानमन्त्रीले भने मन्त्रीहरुको नाम सदर नगरेपछि एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई दबाब दिइरहेको छ ।

  • ११ असार २०७९, शनिबार १६:०४ प्रकाशित