रूपन्देही ।
नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बानियाँ र जगदीश बानियाँ रहेका छन् ।
मिटरब्याजमा स्थानीयलाई ऋण दिएका यी दुई साहुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र वास्तविकता बुझेर प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
उनीहरूसँग ऋण लिएका ४० जनाले काठमाडौं पुगेर आन्दोलन गरेका थिए । आफूले लिएको ऋणको मिटरब्याजसरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीका प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
ऋणीहरुले तोकिएको ऋणभन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।
यता साहुहरुले भने मालपोत कार्यालयबाट राजस्व दिएर दृष्टिबन्धकबाट ऋण दिएको र साँवा दिए ब्याज छाडिदिने बताएका छन् ।