पोखरा ।
कास्कीको धम्पुस आसपास केन्द्र बनाएर आज बिहान करिब ४ बजेतिर गएको भुकम्पले घर भत्किदाँ एक जना घाईते भएका छन् ।
भुकम्पको धक्काले घर भत्किदाँ पोखरा महानगरपालिका-२४ कास्कीकोट दोपरेका ३९ वर्षका पूर्ण हरी सुवेदीकी १५ वर्षीय छोरी करिस्मा सुवेदी घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
सुवेदीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तले ३ कोठे घरमा भुकम्पको पराकम्पले धक्का दिदाँ घरको आटी भत्किएको प्रहरीले जनाएको छ। घाईते करिस्मालाई स्थानीय र प्रहरीले उद्धार गरि उपचारको लागि अस्पताल पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार ४.९ म्यग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र बागलुङसम्म महसुस भएको जनाइएको छ ।