हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

केन्द्रभाग मिडिया

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको आरोपमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलगढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेको भतिजी लक्ष्मी खड्काले बताइन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।

  • ८ असार २०७९, बुधबार १६:४६ प्रकाशित