जग्गाको धितो बन्दकीमा रोक नलगाउन सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
सर्वोच्च अदालतले जग्गा जमिन धितो वा बन्धकीमा राखेर बैंकबाट ऋण लिने काममा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले जग्गा जमिन धितो राखेर ऋण लिन नपाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गत जेठ २७ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू९उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले सर्वसाधारण जनतामा मर्का पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारको उक्त निर्णयले जग्गाजमिन धितोमा राखेर वैदेशिक रोजगारीमा जाने नेपाली विद्यार्थीहरुको जनगुनासो आएपछि सडकदेखि सदनसम्म त्यसको विरोध भएको थियो ।

सर्वोच्चको उक्त आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिन बाटो खुला भएको छ ।

  • ६ असार २०७९, सोमबार १७:१७ प्रकाशित