काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।
आज विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए । पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरेका थिए ।
सरकारले गत वैशाख १८ गते प्रहरी प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । सरकारले प्रहरी प्रमुख नियुक्ति गर्दा वरिष्ठता मिचेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।