नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे बोलेका छन् । ओली सरकारकै पालामा एसपीपीमा सहभागी हुन सेनाले अमेरिकी एम्बेसीलाई पत्र पठाएको खुलासा भएपछि ओलीले आज यसबारे स्पष्टि दिएका छन् ।
ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको स्पष्ट पारेका छन् ।
स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए । यो सबै प्रक्रियाबारे आफुलाई भने कतै पनि नबताइएको ओलीले दाबी गरेका छन् ।
उनले भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’














