काठमाडौं ।
ठुलो मात्राको लागूऔषधसहित ७ अफ्रिकी महिला काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।
५१ केजी लागूऔषध सेतो र खैरो हिरोइनसहित उनीहरु ठमेलको पाँच होटलबाट पक्राउ परेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) जानकारी दिएको छ ।
उक्त परिमाणको हेरोइनको मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यति धेरै परिमाणको हेरोइन एकैपटक बरामद भएको यो पहिलो घटना हो ।
ती महिलाहरुले भारत सप्लाई गर्नका लागि ड्रग्स ल्याएको र नेपाल भारतबीच खुल्ला सिमा नाका भएकाले नेपाल आएको प्रहरीको अनुमान छ ।
पक्राउ पर्नेमा २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्ट छन् ।
उनीहरुले सुटकेशको भित्री भागमा फल्सबटन बनाएर ड्रग्स भित्राएका थिए ।