पोखरा ।
गण्डकी सहित देशका सातै प्रदेशले हिजो बुधबार बजेट सार्वजनिक गरेका छन् । यता गण्डकी पदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्व ९० करोड ९० लाख आकारको बजेट सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने अर्थमन्त्री रामजीप्रसाद बरालले दाबी गरेका छन् । उनले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।
आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालयतर्फ सबैभन्दा बढी ३६ प्रतिशत र सबैभन्दा कम सञ्चार मन्त्रालयमा शुन्य दशमलब ४७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षको कुल बजेटमध्ये हालसम्म पुँजीगततर्फ ४५ प्रतिशत र चालूतर्फ ४२ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यही असार मसान्तसम्म ७० प्रतिशत हाराहारीमा बजेट कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ ।
प्रदेशको समृद्धिको लागि बजेटमा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको उनको भनाइ छ ।
उनले भौतिक पूर्वाधारतर्फ १० लाखभन्दा माथिका योजनालाई ध्यानमा राख्दै बजेट ल्याएको बताए । एक निर्वाचन क्षेत्र, एक कृषि सडक, संघ प्रदेश र स्थानिय तहसँगको साझेदारीमा कृषि उत्पादनमा आत्मनिर्भर कार्यक्रम, कृषक टप अप ग्रान्ट, लिफ्टििङ खानेपानीमा लाग्ने विद्युत महसुलमा छुट, नदीमा आधारित विकास गूरूयोजना, मुस्ताङ काली गण्डकीको जग्गा उकास र स्याउ खेती, जलाशयमा आधारित सिंचाइ आयोजना, विद्युतीय चार्जिङ स्टेशन स्थापना र विद्युतीय सवारीसाधनको प्रयोगमा जोड लगायत काम प्रशंसनीय रहेको उनको दाबी छ ।
उनले नागरिक दिवा सेवा केन्द्र जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण, डायलासिस सेवा विस्तार, लमजुङ अस्पताललाई सरकारीकरण गर्ने, बाग्लुङ धौलागिरी अस्पतालको लागि सिटी स्क्यान खरिद, सामुदायिक वन पोखरी कार्यक्रम, पोखरा महानगरपालिकासँगको साझेदारीमा बसपार्क व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन जस्ता नितान्त नयाँ कार्यक्रमहरू प्रस्ताव गरिएको बताए ।