काठमाडौं ।
नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को लागि नेपालल आफैंले अमेरिकालाई दुई पटक निवेदन दिएको बताएपछि यसबारे नेपाली सेनाले खण्डन गरेको छ ।
दूतावासले बुधबार पत्रकार सम्मेलन गरेर नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएलगत्तै नेपाली सेनाले त्यस्तो कुनै सम्झौता नभएको र भविष्यमा पनि नहुने भन्दै खण्डन गरेको छ । त्यस्तै नेपाल सरकारले पनि त्यस्तो सम्झौता नगर्ने बताएको छ ।
अमेरिकी दूतावासका अधिकारीहरुले एसपीपी सम्झौताका लागि नेपाली सेना आफैंले आग्रह गरेको बताइरहेका बेला नेपाली सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने बुधबार एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो।
नेपाली सेनाद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ।’
नेपाली सेनाले यस्तो सम्झौता भविष्यमा पनि नगरिने स्पष्ट पार्दै उसले यसको च्याप्टर नै बन्द गरिदिएको छ ।
तर यतिबेला सञ्चारमाध्यम देखि संसदसम्म एसपीपीबारे चर्चा साथै आलोचना भइरहेको छ । सांसदहरुले यसबारे जवाफ दिन सरकारलाई आग्रह गरेका छन् । यस्तो सम्झौतामा हस्ताक्षर नर्गन सुझाएका छन् ।
नेपालस्थित अमेरिकी दुतावासले नेपालले सन् २०१५ र २०१७ मा एसपीपीको लागि निवेदन दिएपछि सन् २०१९ मा आफुहरुले स्वीकार गरेका दाबी गरेको छ ।