काठमाडौं।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बजेट निर्माण गलत प्रक्रियाबाट भएको आरोप लगाउदै प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। सदनमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वको वक्तव्य दिएपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धारणा राखेका थिए । त्यसपछि एमालेले बैठकमा अवरोध गरेको हो।
सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे पनि एमाले सांसदले उठेर अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको हो। एमालेको अवरोध कायमै रहेपछि कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाएर सभामुख सापकोटाले बैठक स्थगित भएको जानकारी दिए ।
सदनमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेक्रम चलिरहेको छ। अर्को बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्नेछ।














