मलबारे छलफल गर्न संसद बैठक स्थगन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको सोमबारको बैठक केहीबेरका लागि स्थगन भएको छ ।

किसानलाई मल अभाव भइरहेको विषयमा छलफल गर्नका लागि बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ल्याएको मलबारे छलफल गर्नका लागि स्थगनको प्रस्तावमाथि संसदमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेका थिए । किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस् भन्ने प्रस्ताव भट्टराईले राखेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नक लागि २ घण्टाको समय छुट्याएका छन् ।उक्त प्रस्तावमाथि अहिले सांसदहरूले छलफल गरिरहेका छन् । छलफल भएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले जवाफ दिनेछन् ।

मलमाथिको छलफल सकिएपछि मन्त्रीहरूले आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

  • ३० जेष्ठ २०७९, सोमबार १३:४८ प्रकाशित