वालिङ ।
स्याङ्जा जिल्ला समन्वय समितिमा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा ९एमाले० ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् ।
एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहने गरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो ।
प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए । उनका नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटी, सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ । पार्टीमा लामो समयसम्म सङ्घर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिए ।
एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए ।














