नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरामा लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । पोखरा महानगर १७ बिरौटामा रोकिएका सवस्टेसनको निर्माण तत्काल अघि नबढाए बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने घिसिङको चेतावनी छ ।
पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३/४ वर्षदेखि अवरोध गर्दा निर्माण कार्य अघि बढ्न सकिरहेको छैन । उनले १३२/११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि बढाउन नसकिए अहिलेको क्षमताले नधान्ने बताएका छन् ।
सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग घिसिङले आग्रह गरेका छन् ।घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्य र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन अपिल गरे ।
प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने भएको छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने भएको छ ।
सहरी विद्युत वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिवीसंग नेपाल विद्युत प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम सुरु हुने प्रमुख आचार्यले बताएका छन्।
यसैबीच महानगर प्रमुख आचार्य र घिसिङबीच छलफल भएको छ । पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडकलाईट जडानका लागि नयाँढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत भूमिगत गर्ने विषयमा छलफल भएको बताइएको छ ।
पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत प्राधिकरणका बीच यसअघि सम्झौता भइसकेको छ । भने पोखरा महानगरले सडक बत्ति जडानका लागि ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको महानगर प्रमुख आचार्यले जनाएका छन ।