जाजरकोटमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

केन्द्रभाग मिडिया

सुर्खेत ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाही रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

  • २७ जेष्ठ २०७९, शुक्रबार ११:०६ प्रकाशित