फोहोर फाल्न दिन तयार भए बन्चरेडाँडावासी : अब फोहोर ढुवानी रातिमात्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको फोहोर फाल्न दिन बञ्चरेडाँडाका स्थानीय तयार भएका छन् । महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच गएराती १९ बुँदे सहमति भएसँगै फोहोर फाल्न दिन सहमत भएका हुन्।

महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।

सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ ।

आफ्ना मागहरु सुनुवाई नभएको भन्दै केही दिनदेखि स्थानीयले फोहोर फाल्न दिन रोक लगाएका थिए । काठमाडौं महानगरले प्रहरी बल प्रयोग गरी फोहोर फाल्न थालेको थियो । केही दिन स्थानीय र प्रहरी बीच झडप समेत भएको थियो ।

  • २७ जेष्ठ २०७९, शुक्रबार ०९:५५ प्रकाशित