मन्त्रिपरिषद् पुनर्गठनबारे देउवा, दाहाल र नेपालबीच छलफल

केन्द्रभाग मिडिया

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच भेटवर्ता भएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार दिउँसो कुराकानी भएको हो।

भेटवार्तामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति, मन्त्रिपरिषद् हेरफेर र गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । सरकारले आउँदो कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताका लागि चुनावको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। दाहाल र नेपालसँग चुनावको मितिबारे देउवाले ठोस छलफल गरेका हुन्। उनीहरुबीच दिउँसो तीन बजेदेखि दुई घण्टाभन्दा बढी छलफल भएको छ।

त्यस्तै चुनावको मिति घोषणा हुनुअघि नै मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा पनि तीन नेताबीच कुराकानी भएको स्रोतले जानकारी दियो।

एकीकृत समाजवादीले आइतबार नै आफ्ना मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री देउवासमक्ष नाम बुझाएको थियो। बाहिरिने मन्त्रीहरुकै असन्तुष्टि र बजेटमाथिको छलफल जारी रहेको भन्दै देउवाले अध्यक्ष नेपाललाई केही दिन पर्खिन आग्रह गरेका थिए।

मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै पार्टीले गरेको निर्णय केही दिनमा कार्यान्वयन हुने दाबी गरेका थिए।

समाजवादीले मन्त्री हेरफेर गर्न सिफारिस गरेपछि कांग्रेस, माओवादी र जसपामा पनि हेरफेर हुनुपर्ने आवाज चर्को रुपमा उठेको छ। तीन दलमा मन्त्रीका आकांक्षीहरुले नेतृत्वलाई दबाब बढाएका छन्।

  • २६ जेष्ठ २०७९, बिहीबार १७:५० प्रकाशित