मोरङ ।
विराटनगरका उद्योगी व्यवसायीका तीन संगठनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्टि जनाएका छन् ।
उनीहरुले हाल ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी समेत दिएका छन् ।
मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएका हुन् ।
उद्योगी पवन कुमार सारडाले सरकारले बुधबार दिनभरिमा पनि आफ्ना माग सम्बोधन गर्ने र बजेटको व्यवस्था सच्याउने प्रतिबद्धता नआए बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक जाम गर्ने चेतावनी दिएका छन् ।