प्रधानमन्त्री देउवा मन्त्री नफेर्ने पक्षमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा भएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजनीति अहिले तरंगित बनेको छ । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार नै अध्यक्ष माधवकुमार नेपालले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेका थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरमा सहमति जनाएका छैनन् । उनले अहिले बजेट सेसन चलिरहेकोले मन्त्रीहरु हेरफेर गर्दा नराम्रो सन्देश जाने भन्दै माधव नेपालले सिफारिश गरेको नामबारे निर्णय गरिसकेका छैनन् ।

अहिले सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्री देउवासँग आन्तरिक छलफलमा छन् । कतिपय मन्त्रीहरुले आफूहरु फिर्ता नहुने भनेर अध्यक्ष नेपाललाई जानकारी गराईसकेका छन् ।

मन्त्रीहरु हेरफेर गर्ने निर्णयले अहिले माधव नेपाल समस्यामा परेको पनि चर्चा चल्न थालेको छ । एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवरको नाम सिफारिश गरेको छ। त्यस्तै, यसअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भएको छ। र, राज्यमन्त्रीमा भने हिराचन्द्र केसीको नाम सिफारिश गरेको छ ।

माधव नेपालले पार्टीले सुरुमा अहिलेका मन्त्रीहरुलाई सरकारमा पठाउँदा नै ६ महिनाको लागि पठाएको र त्यसपछि नयाँ मन्त्रीहरु पठाउने समझदारी भएअनुसार नै यस्तो निर्णय गरेको बताएका छन् । तर, सार्वजनिक रुपमा भने यसरी ६ महिना पुग्ने बित्तिकै मन्त्रीहरु फेर्दा अस्थिरता सिर्जना हुने र अहिले सुरु गरिएका कामहरु अधुरो हुने भन्दै आलोचना भैरहेको छ । पार्टीले मन्त्रीहरु फेर्न नाम सिफारिश गरेपनि यसबारेमा प्रधानमन्त्री देउवा सकारात्मक नहुँदा माधव नेपाल भने अहिले तनावमा देखिएका छन् ।

  • २३ जेष्ठ २०७९, सोमबार ११:५२ प्रकाशित