कालीगण्डकीको बिजुली पनि भारत बिक्री हुन थाल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारतमा बिक्री हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत् शनिबार राति १२ बजेबाट बेच्न थालेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७।७ मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३।२ मेगावाट र देवीघाटको १४।५ मेगावाट विद्युत् भारत निर्यात हुने छ ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु)र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको घिसिङले बताएका छन् ।

  • २२ जेष्ठ २०७९, आईतवार १०:५३ प्रकाशित