कास्की जिससमा एमालेको जित

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

आज भएको मतदानमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुखमा सरिता कुमाल विजयी भएका हुन् । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

समन्वयको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्र ढकाल चुनावी मैदानमा रहेका थिए । प्रमुखमा निर्वाचित पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् ।

उपप्रमुखमा निर्वाचित कुमाल रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् । जिससको खुला सदस्यमा एमालेका मादीका राजु अधिकारी, अन्नपूर्णका गणेशबहादुर घर्ती र बालिका सुवेदी, पोखरा २१ का सीता विश्वकर्मा रुपाका हर्कबहादुर गुरुङ, माछापुच्छ्रेका लक्ष्मी परियार र सुकमाया नेपाली निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ महिला र १ जना दलित वा अल्पसंख्यक गरी बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार १४:१२ प्रकाशित