भोलि जिल्ला समन्वय समिति कास्कीको चुनाव

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीको चुनाव भोलि (शुक्रबार) हुने भएको छ । भोलि बिहान ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी मनोनयन र दिउँसो १ बजेदेखि २ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख निर्वाचनका लागि हुने मतदानमा गाउँपालिका, नगरपालिकाका, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखले मात्रै भाग लिन पाउछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार अब गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिका उम्मेदवार हुन पाउनेछन् ।

तर, मताधिकार भने कास्कीका पाँच स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १० जनाको मात्रै रहेको छ । जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यक गरी बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ ।

  • १९ जेष्ठ २०७९, बिहीबार १०:१८ प्रकाशित