काठमाडौं ।
कीर्तिपुरमा ड्रग्स लुट्ने क्रममा कुटपिट गरी आफ्नै साथीको हत्या गरेका छन् ।
आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले कीर्तिपुर नगरपालिका-३ बस्ने २६ वर्षीय अजय नापित र वडा नम्बर-१० बस्ने २२ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको छ।
महर्जन र नापितको कुटपिटबाट घाईते खत्रीलाई नजिकैको कीर्तिपुर अस्पताल पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।
घटना हुनुको कारण भने लागुऔषध रहेको उनले बताए। मृतक आफैंले पनि लागुऔषधको प्रयोग गर्ने गरेको र आरोपित व्यक्तिहरूले पनि प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकबाट १६० एम्पुल लागुऔषध पनि बरामद गरेको छ।