काठमाडौं ।
नेकपा माओवादी केन्द्रले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिलाई सुविधामा नभुली नागरिकको काम गर्न निर्देशन दिएका छन् ।
प्रचण्डले पार्टीको महाधिवेशनले पारित गरेको दस्तावेज बोकेर त्यही अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिए । उनले जनप्रतिनिधिहरूलाई विकास र सुसासन अभिवृद्धिमा कटिबद्ध हुन आग्रह गरे ।
यस्तै प्रचण्डले काठमाडौं, धरान लगायतका ठाउँमा स्वतन्त्र उम्मेदवारले जिते पनि यस्तो जित अपवाद मात्रै हुने बताए। आउँदा वर्षहरूमा पनि चुनाव जित्ने र काम गर्ने दलहरूले नै हो भन्दै उनले दल आफूले पनि नागरिकको मन जित्नुपर्ने बताए।
पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि आजदेखि प्रशिक्षण सुरु गरेको छ । काठमाडौंको कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता र विषय विज्ञहरूले प्रशिक्षण दिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।














