क्यानको एक्सन : अब इनरुटमा मौसम सफा नभएसम्म उडान भर्न नदिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान तारा एयरको विमान दुर्घटनामा परेपछि एक्सनमा उत्रेको छ । क्यानले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।

अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसलाई कडाइका साथ लागु गर्ने क्यानले जनाएको छ।

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।

आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

  • १७ जेष्ठ २०७९, मंगलवार १५:४८ प्रकाशित