आज सरकारको नीति तथा कार्यक्रमः के – के छन् प्राथमिकतामा ?

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। कृषि र केही ठूला पुर्वाधार आयोजनाहरु अगाडि बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्य राखिएको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे सार्वजनिक गर्ने भएकी छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि मुख्य प्राथमिकतामा छ। आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढाउने केही कार्यक्रमहरु हुने छन्। व्यवसायिक कृषिका साथै आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्ने दिशामा सरकारको कार्यक्रम लक्षित हुने छ।

सरकारले आगामी जेठ १५ गते वार्षिक बजेट ल्याउँदैछ। बजेट पूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने प्रचलन छ। राष्ट्रपति भण्डारी साढे ३ बजे शीतल निवासबाट बानेश्वरस्थित संसद भवन जाने छिन्।

अर्थमन्त्रालयको टिमले बनाएको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले पारित गरिसकेको छ। नीति तथा कार्यक्रम प्रधानमन्त्री कार्यालयले तयार पार्नु पर्छ। तर विषयविज्ञ नभएको भन्दै मुख्य सचिव शंकर बैरागीले अर्थमन्त्रालयलाई नै यो काम लगाएका हुन्। यद्यपि मन्त्रिपरिषद्को कार्यालयमा अर्थमन्त्रालयबाट काम गरेका विज्ञ कर्मचारीहरु छन्।

सरकारले नयाँ कार्यक्रमहरु ल्याउने स्पेस पनि नभएको र भइरहेको कार्यक्रमहरुलाई नै निरन्तरता दिनुपर्ने आवश्यकता रहेको जनाएको छ। तर, अर्थमन्त्रालयले २० अर्ब रुपैयाँका नयाँ परियोजनाहरु अगाडि सार्ने तयारी गरिसकेको छ।

  • १० जेष्ठ २०७९, मंगलवार १०:०९ प्रकाशित