पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

केन्द्रभाग मिडिया

 

पोखरा ।
पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायम राखेका छन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जु गुरुङ नै अगाडि छन् ।

गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४१ हजार ७०५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३८ हजार ३१० मत ल्याएका छन् ।

मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले चार हजार ६९० मत प्राप्त गरेका छन् । मेयर पदका स्वतन्त्र उम्मेदवार (अटेरी अभियानका अभियान्ता) खडकराज पौडेल (गनेस)ले दुई हजार ६ सय ४९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ४३ हजार ६१६ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत प्राप्त गरेकी छन् ।

उपमेयरमै राप्रपाकी रञ्जना कुमारी सेनले चार हजार ६२९ मत प्राप्त गरेकी छन् । एक लाख चार हजार २१२ मत गणना भएको छ । एक लाख ४३ हजार १२६ मत खसेको पोखरामा अब ३९ हजार १४ मत मात्र गन्न बाँकी छ ।

  • ८ जेष्ठ २०७९, आईतवार १३:४६ प्रकाशित