काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह दुई वडा बाहेकका अन्य वडाहरुमा अगाडि रहेका छन् । हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्।
एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्।
अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ।
गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सुरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रो स्थानमा छन्। २७ र २८ वडाबाहेक गणना भइरहेका अरू वडा र गणना सकिएका वडाहरूमा भने बालेन नै अगाडि छन्।
पछिल्लो विवरणअनुसार स्थापितले २७ नम्बर वडामा ९९२ मत गनिसक्दा ३०८ मत पाएका छन्। यहाँ सिर्जना सिंहले २३५ र बालेनले १६१ मत पाएका छन्।
त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। उनलाई ७३० मतसहित सिर्जनाले पछ्याएकी छन् भने बालेनले ७२१ मत पाएका छन्।














